बाल गृहमा रहेका बालबालिकाको उद्धार तथा पुन:स्थापना गरिएको सम्बन्धमा ।
विज्ञप्ति
बाल गृहमा रहेका बालबालिकाको उद्धार तथा पुन:स्थापना गरिएको सम्बन्धमा ।
मिति २०८३ साल जेठ २८ गते राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ८ सिपाडोल स्थित मुस्कान सेवा नेपाल नामक संस्थाले सञ्चालन गरेको बाल गृहले बाल गृह सञ्चालन सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न नसकेकोले बाल गृहमा आश्रित बालबालिका जोखिममा पर्न सक्ने सम्भावना देखिको हुँदा उक्त बाल गृहमा रहेका दुर्इ बालक र छ बालिका गरी जम्मा ८ जना बालबालिकालाई सूर्यविनायक नगरपालिका र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ को समन्वय र सहयोगमा उद्धार र पुन:स्थापना गरी बालबालिकाको संरक्षण तथा व्यवस्थापन गरिएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) को खण्ड (द) मा कानून बमोजिम बाहेक बाल गृहमा बालबालिका राख्ने कार्यलार्इ बालबालिका विरुद्धको हिंसा मानी यस्तो कार्य गर्नेलार्इ पचास हजार रुपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद हुने व्यवस्था छ भने बाल गृह सञ्चालन गर्ने संस्थाले बालबालिका सम्बन्धी नियमावली, २०७८ को नियम ६४(अनुसूची-४)मा उल्लिखित न्यूनतम मापदण्ड र बाल गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ बमोजिम बाल गृह सञ्चालन तथा व्यवस्थापन गर्नु पर्ने व्यवस्था रहेको छ । नियमावलीको नियम ६२ बमोजिम कसैले पनि संस्था दर्ता गरी राष्ट्रिय बाल अधिकार परिषदबाट बाल गृह सञ्चालन अनुमति लिएर मापदण्ड बमोजिम बाल गृह सञ्चालन गर्नु पर्ने र मापदण्ड बमोजिम बाल गृह सञ्चालन भए/नभएको सम्बन्धमा सम्बन्धित स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीले नियमित रुपमा अनुगमन तथा निरीक्षण गरी सोको प्रतिवेदन यस परिषदमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्को अनुमति नलिर्इ वा उल्लिखित मापदण्डहरुको पालना नगरी बाल गृह सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिमको कारबाहीका लागि जो कसैले नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय वा यस परिषदमा लिखित जानकारी गराउन हुन र सम्बन्धित स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीले बाल गृहको नियमित अनुगमन, निरीक्षण र पृष्ठपोषण गरी बाल गृह व्यवस्थापन कार्यमा सहयोग गर्नु हुन अनुरोध छ ।
२९ जेठ २०८३ रामबहादुर चन्द
नेपाल सम्वत् ११४६ सूचना अधिकारी